Monday, October 15, 2012

गाई पालेर २१ वर्षमै सफल

Lila Nath Ghimire
काठमाडौं, आश्विन २१ - उनी भर्खरै २१ वर्ष लागेका छन् । उनको व्यावसायिक प्रगति भने परिपक्व व्यक्तिको भन्दा बढी छ । ऋण गरेर गाईपालन सुरु गरेको एक वर्ष नपुग्दै उनले दूध बेचेर मासिक झन्डै १ लाख रुपैयाँ कमाउन थालेका छन् ।
युवा स्वरोजगार कार्यक्रमसँग ऋण लिएर गत वर्ष सुरु गरेको व्यवसाय अपत्यारिलो किसिमले फस्टाएको छ । मामाले दिएको बाच्छी पालेर सुरु भएको उनको व्यवसायमा सानाठूला गरी २९ वटा गाई थपिएका छन् । व्यवसायमा उदाहरण प्रस्तुत गरेबापत उनले शुक्रबार राजधानीमा गभर्नर युवराज खतिवडाको हातबाट ५ हजार रुपैयाँ पुरस्कार पाउन सफल भए । कृषि सहकारी केन्द्रीय संघका तर्फबाट नमुना कृषि उद्यमीका रूपमा उनलाई दोसल्ला, सम्मानपत्रसहित सम्मान गर्दा हलमा उपस्थित हजारौं सहभागीले जिब्रो टोके । लामो समय ताली बजाएर उनलाई प्रोत्साहन गरे ।

सबैलाई आश्चर्यमा पार्ने सफलताको कथा जनक शिवाकोटीको हो । दोलखाको विकट गाउँमा गुजारा नचलेपछि उनको परिवार अवसर खोज्दै चितवनको खैरहनी बसाइ सरेको थियो । 'एसएलसी दिएपछि बाँच्नका लागि संघर्ष गर्न मैले १४ वर्षको उमेरमै २५ हजार रुपैयाँ ऋण गरेर व्यवसायमा हात हालेको थिएँ,' उनले आफ्ना विगतका दिन सम्भिmए, पहिलो पटक २ सय कुखुरा पालेको थिएँ । उनको जम्मा २ कठ्ठा जग्गा थियो । आम्दानीको अरू स्रोत थिएन । बाबुआमा र भाइ बहिनीसहित ५ जनाको परिवार गुजारा गर्नुपर्ने थियो । उनले २०६१ मा सुरु गरेको कुखुरापालनले केही समय फाइदा दियो । त्यो अवस्था धेरै समय टिकेन । 'बिस्तारै बर्डफ्लु, मागभन्दा धेरै उत्पादनले घाटा हुन थाल्यो,' उनले सुनाए, 'केही वर्षमै कमाएको ५ लाख रुपैयाँ गुमाएँ ।'
त्यसपछि उनले २०६७ मा वैदेशिक रोजगारीमा जान पासपोर्ट बनाए । आवेदन गर्न म्यानपावरमा जाँदा उनी भर्खर १९ वर्ष लागेका थिए । 'कम्पनीले उमेर नपुगेको भन्दै फर्काइदियो,' उनले सुनाए, 'त्यसपछि कुनै व्यवसाय छान्नैपर्ने बाध्यता आइलाग्यो ।' उनको परिवारलाई मावलीले दिएको एउटा कोरली ब्याउने अवस्थामा थियो । उनी त्यसको स्याहारमा लागे । 'गाई ब्याएपछि दैनिक १८ लिटर दूध दिन थाल्यो,' उनले सुनाए, 'त्यसलाई हेरेर मैले गाई पाल्ने योजना बनाएँ ।'
उनी पासपोर्टसमेत बोकेर गाउँकै साना किसान सहकारी संस्थामा ऋण लिन पुगे । 'म वैदेशिक रोजगार जाने इच्छा त्यागेर व्यवसाय गर्न ऋण माग्न आएको हँु,' उनले सहकारीलाई भनेको कुरा सम्भिmए, 'त्यो सुनेर सहकारीका पदाधिकारीले सरकारले उपलब्ध गराएको स्वरोजगार कोषको रकमबाट २ लाख रुपैयाँ ऋण दिए । ऋण र दूध बेचेको रकम थप्दै उनले एक वर्षमै १९ वटा ठूला र ११ वटा मझौला तथा साना गरी ३० वटा गाई पुर्‍याएका छन् । यसैबीचमा उनले आफ्नो गाईपालनलाई सत्यम काउ फार्म एन्ड बि्रडिङ -स्क्याब) हाउसका नाममा दर्ता गरेका छन् । उनी अहिले दैनिक १ सय ५० लिटर दूध बेच्छन् । त्यसबाट सबै खर्च कटाएर मासिक ९३ हजार रुपैयाँ नाफा हुन्छ । उनले भने, 'त्यसलाई व्यवसाय विस्तारमै लगाएको छु ।' उनले गाईका लागि २ बिघा जमिन लिजमा लिएर नेपियर, टियोसेन्टी, स्टाइलो जोइभेजजस्ता घाँस लगाएका छन् । उनले गोठलाई आधुनिक स्वरूप दिएका छन् । प्रविधिको प्रयोग गर्दै ठूलो ट्यांकीबाट पानी हरेक गाईको डुँडमा पुग्ने व्यवस्था मिलाएका छन् । घाँस, पराल कुट्ने इलेक्ट्रोनिक मेसिनको व्यवस्था गरेका छन् ।
आठ वर्षमा सयवटा गाई पुर्‍याउने लक्ष्य राखेको उनले सुनाए । अपत्यारिलो लाग्ने उनको लक्ष्यका पछि दरिलो तर्क छ । 'अहिले भएका अधिकांश गाई ब्याउनेछन्,' उनले सुनाए, 'तीमध्ये आधाले बाच्छी पाउँछन् । तिनले तीन वर्षमा ब्याउँदै जाँदा मेरो लक्ष्य सजिलै पूरा हुन्छ ।' उनी व्यवसायमा योजनाबद्ध रूपमा अगाडि बढेका छन् । उनले ५० वटा दुहुना गाई पुगेपछि दुहुने मेसिन भित्र्याउने, गौमूत्र संकलन ट्यांकी राखेर घाँसको ड्याङमा पुर्‍याउने, बाच्छीको हेरचाहका लागि केयर सेन्टर स्थापना गर्ने, दैनिक ५ सय लिटर दूध उत्पादन हुन थालेपछि आफैं चिस्यान केन्द्र राख्ने,४ सय गाई पुगेपछि दूधका परिकार आफैं उत्पादन थाल्ने उनका योजना छन् । अहिले उनलाई  आमाबाबु र भाइबहिनीले व्यवसायमा सघाउँछन् । व्यवसाय बढ्दै जाँदा रोजगार सिर्जना हुँदै जाने उनले बताए । 'कमाउन कुनै नेपालीले विदेश जानु पर्दैन,' उनले आफ्नो अनुभव सुनाए, 'जाँगर भने सबैमा हुनुपर्छ । उनको प्रगति देखेर जिल्लाका पशु चिकित्सक अर्जुन थपलिया निकै प्रभावित छन् । 'युवा उमेरमै शिवाकोटीले गरेको प्रगति उदाहरणीय हो,' उनले भने । 
Source: http://kantipuronline.com/nep/2069/6/21/full-story/355749.html

No comments:

Post a Comment