Thursday, June 14, 2012

बीउ भण्डार निर्माण सुरु

बीउ भण्डार निर्माण सुरु

२३ वैशाख, म्याग्दी । म्याग्दी जिल्लामा तीनवटा अत्याधुनिक उपकरणजडित बीउ भण्डार गृह निर्माण सुरु भएको छ । विश्व बैंकको सहयोगमा कृषि सेवा विभागले ताकम, बाबियाचौर र रत्नेचौरमा बीउ भण्डार गृह बनाउन लागेको हो । १५ महिनामा सम्पन्न हुनेे बीउ भण्डारमा प्रशोधन, चिस्यान, भण्डारण र रोग-कीरा नलाग्ने व्यवस्था मिलाइने छ ।
सुरक्षित भण्डार गृह बनेपछि रोग-कीराले आक्रमण गर्न नसक्ने भएकाले गुणस्तरीय बीउबाट उत्पादकत्व बढाउन सकिने ताकमका कृषक चिन्तामणि सुवेदीले बताउनुभयो ।   स्थानीय कृषि सहकारी संस्थामा आवद्ध कृषकको १५ र सरकारको ८५ प्रतिशत लगानीमा खाद्यन्न र तरकारीको बीउ भण्डार गृह बनाउन लागिएको हो । अन्नपूर्ण कृषि सहकारी संस्था ताकम, मालिका कृषि सहकारी संस्था बाबियाचौर र रत्नेचौर व्यावसायिक बीउ उत्पादन सहकारी संस्थासूग सहकार्य गरेर भण्डार गृह बनाउन लागिएको परामर्शदाता संस्थाकी फिल्ड संयोजक शान्ता आचार्यले जानकारी दिनुभयो ।
प्रारम्भिक सर्वेक्षणअनुसार एउटा बीउ भण्डार निर्माण गर्न रु २० देखि ३० लाखसम्म लगानी हुनेछ । गुणस्तरीय बीउ उत्पादन गरी सुरक्षित भण्डारणमार्फत खाद्य असुरक्षा कम गर्न भण्डार गृह बनाउन लागेको बताइएको छ । पहिलो चरणमा स्थान छनोट र जग्गा खरिद गरेर पूर्वाधार निर्माणका साथै कृषकलाई दक्ष बनाउन प्राविधिक ज्ञान दिन थालिएको छ । कृषकलाई बीउ उत्पादन गर्नेदेखि प्रशोधन र भण्डारण तथा बजारीकरणको ज्ञान दिएर दक्ष बनाउन बेनीमा १५ दिने तालिम सञ्चालन गरिएको फिल्ड संयोजक आचार्यले बताउनुभयो ।
भण्डारगृहको व्यवस्थित र दिगो सञ्चालनका लागि कृषकलाई बीउ उत्पादन, भण्डारण, उपकरणको प्रयोग र बजारीकरणलगायतका विषयमा प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिन थालिएको छ । कृषकले भण्डार गृहमा मकै, गहुँ, धानलगायत खाद्यबाली र तरकारीको बीउ उत्पादन गर्न सक्नेछन् । जिल्लामा पहिलोपटक बीउ भण्डार गृह निर्माण हुन लागेको हो । सरकारले यसवर्ष म्याग्दीलगायत देशका २१ जिल्लामा ३८ वटा बीउ भण्डार गृह निर्माण गर्न लागेको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment