Thursday, November 8, 2012

कृषि व्यवसायीकरणका समस्या

डा. युवकध्वज जी.सी.
 कृषिप्रधान देश नेपालमा कृषि उत्पादनले नै देशको संख्याको खाद्य आपूर्तिलाई भरथेग गर्न नसक्नु दुःखलाग्दो कुरा हो । यस्तो हुनुमा दर्जनौैं कारण भए पनि प्रमुख रूपमा कृषि उत्पादन र उत्पादकत्व नै कमी हुनु हो । कृषि उत्पादन न्यून हुनुमा यस क्षेत्रमा राष्ट्रिय रूपमा विनियोजित बजेट नै अत्यन्त न्यून (३ दशमलव २ प्रतिशत) हुनु, विकसित प्रविधि नेपाली माटो र पाटोमा सामाजिक, आर्थिक र भू-बनोटीय एवं जमिनको वितरण प्रणाली अनुरूप मेल नखानु प्रमुख छन् । त्यसका साथसाथै कृषिक्षेत्रको प्रतिफल तुलनात्मक रूपमा फाइदा जनक नभई लागत बढी हुनु र युवाहरूमा दिनानुदिन कृषि पेसाप्रति वितृष्णा फैलिई टाढिँदै बरु अरबका ताता खाडीमा जान तयार हुनुले भविष्यमा ठूलै चुनौती आउने देखिन्छ । कृषिमा धेरै चुनौती भए पनि प्रमुख रूपमा यो व्यवसायमा आश्रति भई श्रम खर्चने युवाशक्ति पलायन हुनु, कृषियोग्य जमिन घडेरीकरण भई खेती गरिने क्षेत्र साँघुरिनु, चक्लाबन्दीको सट्टा खण्डीकरण हुनु प्रमुख समस्या रहेका छन् ।
कृषिमा आश्रति जनसंख्या ९० प्रतिशतबाट बर्सेनि घटि आज ६५ दशमलव ५ प्रतिशत हुनु नराम्रो होइन, तर कृषिक्षेत्रबाट राष्ट्रको अर्थतन्त्रमा पुगेको कुल गार्हस्थ्य उत्पादन घट्नु दुर्भाग्यपूर्ण हुन जान्छ । यदि विकसित देशको कृषिलाई हेरियो भने यस क्षेत्रमा आश्रति संख्या सरदर ४ देखि ८ प्रतिशत रहेको देखिन्छ, जुन हिस्साले राष्ट्रको सबै जनसंख्यालाई खाद्यान्न पुर्‍याएको मात्र नभई मानिसहरू हृष्टपुष्ट र खाएलाएजस्ता देखिन्छन्, तर हाम्रो देश जहाँ अझै पनि करिब ७० प्रतिशत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कृषिमा संलग्न रहँदा पनि देशका अधिकांश जनता भोकमरीमा पर्नु र खाने बेलामा बाहिर लखेटेजस्ता कुपोषणयुक्त हुनुजस्ता विडम्बना हाम्रो सामु छन् ।
 नेपाल दुई दशकअघिसम्म धानचामल निर्यात गर्ने राष्ट्र गनिन्थ्यो जसले दक्षिण कोरियाजस्ता उदीयमान राष्ट्रलाई खाद्यान्न निर्यात गथ्र्यो, तर आज पूरै आयातकर्ताका रूपमा दर्ज भएको छ । त्यस्तै अन्य वस्तुहरू पनि निर्यातभन्दा आयात नै बढी गरिन्छ, जबकि सहरबाट चिनी, चिउरा, चप्पल, चाउचाउ, चाउमिन इत्यादि लिएर भरिभराउ ट्रकहरू गाउँमा भित्रिन्छन्, तर र्फकंदा रित्तै र्फकनुपर्ने बाध्यता छ । कतै यो उदेकलाग्दो अवस्था छ भने कतै त उत्पादित स्याउलगायत मौसमी फलफूल, तरकारी, पशुजन्य वस्तु तथा अन्य फलफूलहरू ढुवानीको असुविधाले कुहेर सडेका छन् । उपभोग गर्ने क्षेत्रसम्म ल्याउन सकिएको अवस्था छैन । आज मुस्ताङ र जुम्लाको स्याउले डोको र खर्पनमा पनि सवार पाएका छैनन् तर नेपाली उपभोक्ता अस्ट्रेलिया र न्युजिल्यान्डलगायत सात समुद्रपारको महँगो स्याउ किन्न बाध्य छन् ।
उत्पादन, उत्पाकत्व र वितरण प्रक्रियालाई किन व्यवस्थित नगर्ने भन्ने खालको योजना, बजेट र धेरै मस्तिष्क यसमा नखर्चेका भने होइनन् तर ती चिज प्राप्तिका लागि समन्वयात्मक हिसाबले तालमेल मिलाई उपलब्धि हासिल गर्न सकेको भनै देखिँदैन । कारण देशमा स्थिर राज्यव्यवस्था, प्रशासनिक चुस्तता, कृषकमुखी कृषिनीति, खेती गर्नेका लागि जमिन, आवश्यक लगानी, उपयुक्त प्रविधि, विज्ञहरू देशमा बस्ने वातावरण मिलाउनु पनि उत्तिकै आवश्यकता छ । बर्सेनि विज्ञहरू विदेशमा पलायन हुनु, खेती गर्ने श्रमशक्ति यस पेसाबाट पलायन हुनु, कृषि पेसा आकषिर्त र सम्मानित नहुनु, अन्य पेसाको तुलनामा फाइदाजनक नहुनु, बाली बिमालगायत कृषिका लागि आवश्यक पर्ने कृषिसामग्रीहरू मल, बीउ, कीटनाशक सामग्रीहरू, सिंचाइ, कृषिकर्ममा प्रयोग हुने औजार मेसिनहरू र मूल्य श्रृंखलामा योगदान दिने प्रविधि एवं बजारीकरणमा सहयोग पुर्‍याउनु आवश्यक छ ।
आर्थिक एवं समाजिक परिवेश बुझेका समूह कृषि पेसामा लाग्ने हो भने कृषि व्यवसायीकरणमा जाने सम्भावना देखिन्छ, जसले बेरोजगारी समस्या समाधानका साथै आर्थिक क्रान्तिमा सहयोग पुर्‍याउने देखिन्छ । साथै वरिष्ठ समाजसेवी हास्यकलाकारद्वय मदनकृष्ण र हरिवंशजस्ता व्यक्तित्वले डा. विष्णु चापागाईंजस्ता विज्ञमार्फत इजरायली प्रविधिजस्ता समुन्नत प्रविधि देशमा भित्र्याउनुु कृषिक्षेत्रका सुखद पक्ष हुन् । सबै तर्फबाट सकारात्मक सहयोग र योगदान भएको घडीमा यस क्षेत्रको श्रीवृद्धि गर्नमा नीति र कार्यक्रम ढिला नगरी ल्याए युवा बेरोजगार धेरै हदसम्म समाधान भई देश श्वेत र हरित क्रान्तिमार्फत आर्थिक समृद्धिमा लाग्ने देखिन्छ ।
-लेखक, बाली संरक्षण निर्देशनालय, हरिहरभवनका कार्यक्रम निर्देशक हुन् ।)
Source: http://www.ekantipur.com/nep/2069/7/12/full-story/356651.html#.UJxuLs683Bs.facebook

No comments:

Post a Comment